-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरु एकैठाउमा जम्मा भई एक आपसमा शुभकामना आदान प्रदान, देउसी भैलो र सांस्कृतिक कार्यक्रमका साथ महान चाड मनाएका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहांस्थित सबै नेपालीभाषीहरुको सहभागितामा यही अक्टोबर १९ तरिक आइतबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शुभकामना आदान प्रदान, देउसी भैलो र सांस्कृतिक कार्यक्रमका साथ दशै तिहार शुभकामना कार्यक्रम सम्पन्न गरेका हुन् ।
नेपालीभाषीमाझ भाषा, संस्कृती, पहिचान र रितीरिवाजलाइ निरन्तरता दिदैआएको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेकबर्ष दशैंतिहार शुभकामना सांझ कार्यक्रम आयोजना गर्दै आएको थियो । यसबर्ष भने मातृभुमीमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान बलिदान दिएका सहिदहरुको सम्मान र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांस्कृतिक सांझ कार्यक्रमलाई स्थगित गरी एकता, भातृत्व र संस्था सवलीकरणका लागी शुभकामना आदान प्रदान र देउसी भैलो र सांस्कृतिक कार्यक्रम गरिएको हो ।
जन्मभुमी तथा कर्मभुमीको राष्ट्रियगान गाउँदै शुरु गरिएको कार्यक्रम दिउँसो २ बजेदेखी सांझ ५ बजेसम्म संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको प्रथम महिला अध्यक्ष निलम श्रेष्ठको प्रमुख आतिथ्यता, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ र समाजसेवी प्राध्यापक डा. विजयराज शर्माको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथि, विशेष अतिथिहरुले संयूक्तरुपमा पानसमा बत्ती बालेर उद्धाटन गरी अगाडि बढाएका थिए ।
कार्यक्रममा मातृभुमी नेपालमा हालैभएको आन्दोलनबाट ज्यान गुमाएका वीर सपूतहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारीहरुले कार्यक्रमका प्रमुख अतिथि निलम श्रेष्ठलाइ सम्मान र बिशेष अतिथिहरुलाइ खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए । यसैगरी कार्यक्रमलाइ प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले आ आफ्नो मन्तब्य राख्दै महान चाडको उपलक्ष्यमा शुभकामना दिएका ब्यक्त्त गरेका थिए ।
कार्यक्रमको दोश्रोचरणमा गीत संगीत सहितका मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो । जहां संझना पाण्डे लगायतका कलाकारहरुले गीत र नृत्य प्रश्तुत गरेका थिए भने मनोजकाजी तुलाधरले कुशल तरिकाले सेक्सोफोन बजाइ दर्शक श्रोताको मन जित्न सफल भएका थिए । कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न सहभागीहरु बीच क्वीज प्रतियोगिता समेत गरिएको थियो ।
संस्थाको अध्यक्ष आकृति राइको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाको बोर्ड अफ डिरेक्टर बिष्णु बिबेकले संचालन गरेका थिए भने उपाध्यक्ष हरी गुरुङले कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्यमा संस्थाका पदाधिकारीहरुले घर घरमा तयार पारेर ल्याएका सेलरोटी लगायतका मिठा परिकार बितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्