-सुदीपभद्र खनाल-
जहाँ बस्यो त्यहीँको हो मान्छे यो पृथिवी भर
पृथ्वी हो सबको साझा ईश प्रदत्त यो घर
मान्छेले हो बनाएको सिमाना देश बन्धन
सँस्कृति पनि आफ्नै हो जस्तो हो तेल वा नुन
मेरो संस्कृति हो मेरो चिनारी धरतीभर
चिनो पिता र पूर्खाको परम्परा निरन्तर
मान्नु कर्तव्य हो मेरो मिले नमान्नु के छ र
आफ्नो कर्तव्यमा मैले चुकेको कहिले छु र
जसरी दूर पुग्दैमा छोडिँदैन कसै नुन
संस्कार पनि उस्तै हो म कसै छाड्न सक्तिन
सबै संस्कार मान्छेका म हेर्छु समभावले
जहाँ कानूनले दिन्छ नमान्नु कुन हेतुले ?
नमिले मनमा राख्छु आज यस्तै भयो भनी
जिन्दगी एक यात्रा हो यात्रा बाटै गरी जनी
प्रणाम राममा गर्छु कुसंस्कार छुटोस् भनी
सुसंस्कार म थाम्नेछु जहाँ सम्म छ जीवनी
म भातृत्व उचालेर जितेमा सत्य नाच्दछु
म आफ्नै श्रमले बाँची श्वास स्वाधीन फेर्दछु
म सहन्न कतै मेरो हेपिए पन चिन्तन
जहाँ मानवता फुल्छ त्यहीँ फुल्दछ जीवन
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्