नेपाल । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने स्पष्ट पारेकी छन् । यसका लागि सूचना संकलन तीव्र पारेको उनले संकेत गरेकी छन्। सहकारी ठगी गरेर हिँड्नेहरूमा नक्कली डिभोर्स गर्नेहरूसम्म रहेको उनले बताएकी छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले सरोकारवालासँग छलफल गरिन् । छलफलमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ,संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारी सहभागी थिए ।
सुनका घडी लगाउने, महँगा गाडी चढ्ने सहकारी ठगहरूलाई कुनै हालतमा छाड्न नहुने उनले बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उनले कानुनमा समस्या भए संशोधन गर्न भनेकी छन् । उनले भनिन्‚ ‘जे गर्नुपर्छ गरौँ तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडित रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौँ ।’
उनले यो काम यही सरकारले नै गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ। सरकारको मुख्य काम नै चुनाव सम्पन्न गर्नु, भ्रष्टाचारीलाई कारबाही गर्नु र सहकारी समस्या समाधान गर्नु भएको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन् ।
उनले सहकारी ठगी गर्नेहरूको घरजग्गा लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने बताइन् ।
‘पीडितचाहिँ सडकमा रोएर हिँड्ने अनि ठग चाहिँ सुकिलो मुकिलो भएर हिँड्ने। यस्तो हुनु हुँदैन’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो सभ्य समाजको परिचय होइन। उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्