१ कार्तिक २०८२, शनिबार

जेनजी आन्दोलनको क्षतिको करिब दुई अर्ब दाबी भुक्तानी

कोलोराडोखबर संवाददाता , October 17th, 2025

नेपाल । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख बराबरको दाबी आएको छ । जसमध्ये एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब १९ करोड ३६ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस्तै सङ्ख्याका आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बिमामा ६७३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ५५ करोड १७ लाख भुक्तानी भइसकेको छ । सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ७१ लाख रुपियाँ दाबी परेको थियो ।

मोटर बिमामा दुई हजार २५६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब ३६ करोड २५ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । मोटर बिमा अन्तर्गत तीन अर्ब ४४ करोड ९५ लाख रुपियाँ दाबी परेको थियो ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा १८२ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब तीन करोड ८१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यस अन्तर्गत तीन ३३ करोड १८ लाख रुपियाँ दाबी परेको थियो ।

यस्तै अन्य बिमा शीर्षकमा ४० वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानी समेत गरी २२ लाख दाबी भुक्तानी भएको छ भने यस अन्तर्गत ३८ करोड ८६ लाख रुपियाँ दाबी परेको थियो ।

परिवहन बिमा शीर्षकमा १२ वटा दाबी परेकोमा हालसम्म भुक्तानी भएको छैन भने यस अन्तर्गत एक करोड ६३ लाख दाबी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्