नेपाल । साहित्यकार जयदेव भट्टराईको नयाँ कृति शब्दचित्र ‘नमन’ को लोकार्पण गरिएको छ ।
आरब्ध प्रकाशनद्वारा आयोजित कार्यक्रममा उर्मिला उपाध्याय, डा. तीर्थबहादुर श्रेष्ठ, नूपुर भट्टाचार्य, भुवन चन्द, शकुन्तला शर्मा, शङ्करनाथ रिमाल, शशि शाह, विजया शर्माले संयक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
सो कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले पुस्तकबारे चर्चा गर्दै नेपाली साहित्य र ललितकलाका विविध विधामा योगदान पुर्याउनुभएका साधकका काम र व्यक्तित्वबारे लेखिएको उक्त पुस्तकले सर्जकलाई अमर बनाउने बताउनुभयो । उहाँले साहित्यकार भट्टराईले गोरखापत्र, मधुपर्कमा सेवा दिँदा लेखिएका र सेवाबाट अवकाश लिएपछि नेपाली साहित्यका मूर्धन्य व्यक्तिबारे खोजी, अनुसन्धान गरी नमन पुस्तकमा समेटेकोले भावीपुस्ताले व्यक्तित्व, कृतित्व दुवै पक्षबारे बुझ्ने, पढ्ने अवसर सिर्जना भएको बताउनुभयो ।
प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यकार भट्टराईले नेपाली साहित्य क्षेत्रका विविध विधामा कलम चलाएर खारिएका साधकबारे निबन्धात्मक जीवनी लेखेर छोटो लेखमा व्यक्तित्वको सबै जीवनी पढ्ने अवसर प्रदान गर्नुभएको बताउनुभयो । उहाँले नमन पुस्तकमा नेपालका ३९ जना साधकको परिचय, समग्र जीवनी पढ्न सकिने र सर्जकसँगै तत्कालीन समाज, परिवेश, व्यवस्थालाई पढ्ने मौका मिलेको बताउनुभयो ।
लेखक भट्टराईले नमन पुस्तकमा शशि शाह, विजया शर्मा, टेकवीर मुखिया, शान्ति ठटाल, प्रदीप रिमाल, रामशरण दर्नाललगायतका ३९ जना साधकबारे खोजी गरी पुस्तक प्रकाशन गरेको बताउनुभयो । उहाँले हजुरबुवा, बुवालगायतले लेख्ने, पढ्ने गर्नु हुँदा घरकै वातावरणले आफू लेखनतर्फ आकर्षित भएको जानकारी दिँदै लेख्दै जाँदा विविध कृति तयार भएको अनुभव सुनाउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के के कर्माचार्यले लेखक भट्टराई कम बोल्ने तर धेरै लेख्ने सर्जक हुन् भन्दै उहाँको सिर्जनाको कद निकै अग्लो रहेको बताउनुभयो । नमनलाई आरब्ध प्रकाशनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्