२९ आश्विन २०८२, बुधबार

अमेरिकामा अर्थमन्त्री खनाल विभिन्न भेटघाटमा व्यस्त

कोलोराडोखबर संवाददाता , October 15th, 2025

अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ ।

मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो । यस अगाडि उहाँले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गर्नुभएको थियो ।

भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

यसैबीच, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ ।

त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो ।

विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन यहाँ आउनु भएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको यहाँ स्थित राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्