नेपाल । यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ ।
तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ ।
फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिनुभयो । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उहाँले जानकारी दिनुभयो । तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।
मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ । विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उहाँले जानकारी दिनुभयो ।
युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ । यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको छ । यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपियाँसम्म रहेको छ ।
फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको छ । पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्