२८ आश्विन २०८२, मंगलवार

अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई अर्थमन्त्री खनालद्वारा सम्बोधन

कोलोराडोखबर संवाददाता , October 14th, 2025

अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।

उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो ।

अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुग्नुभएको हो ।

यसैबीच, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थियो ।

विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्