२७ आश्विन २०८२, सोमबार

कविताः खरानीको मूल्य

कोलोराडोखबर संवाददाता , October 11th, 2025

-लालगोपाल सुवेदी-
कुरै बुझ्न सकेको छैन मैले
खरानीकै पो मूल्य बढाबढ भैरहेछ अहिले !

बाढी पहिरोले पानी धमिलिएको छ
बगेको छ पानीमा माटो ( यो माटो !!! )
निभेका छन् घर घरमा बत्ती
भत्केको छ सुदूर लक्ष्यसम्म पुग्ने मूलबाटो
हाँसिरहेका छन् कसैका त हड्डी नै
मन्चन भैरहेका छन् नाटक कतै न कतै
मासुले टन्नै अघाएका गोहीहरू रुँदै छन् एक्ला एक्लै
घाउ सुम्सुम्याउनु, सँगैसँगै रुनुको साटो
मौकामा चौका हान्ने दाउ तिनको
तिनीहरूलाई मन पर्छ द्वन्द्व
ल्याउन खोज्दै छन् ती
दाजुभाइ , दाजुभाइमा फाटो
जन जनका मनमा बल्झिरहेछ घाउ
कसैको भने धमिलो पानीमा माछा मार्ने दाउ

मस्तराम तान्दै छ गाँजा
साधुरामले भुँडी फुट्ने गरी छ्याङ पिएको छ
कोही खोज्दै छन् बल्छी
कोही बुन्दै छन् ढडिया
कोही गँड्यौलाको खोजीमा छन्
उता चतुरनाथ भ्यागुता, चेपागाँडा अरूकै भागमा छाडी
सग्ला सग्ला माछाहरू आफ्नै भागमा पार्ने सोचमा छ

रुवायो
कसैलाई नुनले रुवायो
कसैलाई गुन, कसैलाई बैगुनले रुवायो
कसैलाई नुनिलो आँसु र तातो खुनले रुवायो
रुँदै छ
एकातिर गुन रुँदै छ
एकातिर बैगुन रुँदै छ
तर कसै-कसैलाई
घर जलेको रापमा मजा हुँदै छ

कतिपय मनुवाहरू
घर जलेको खरानीको थुप्रोमा
खोज्दै छन् सुनका डल्ला
ढ्याङ्ग्रो ठटाउँदै छन् कोही
कोही मच्चाउँदै छन्-
गल्ली गल्ली, चोकचोक
बजार बजारभरि हल्ला
देशै थला परेको बेला हो यो
कोही गर्दै छन् अँध्यारो कोठामा गोप्य बैठक
कोही गर्दै छन् खरानी बेच्ने सल्लाह
त्यसै भनेनन् भूपिले
‘यो हल्लै हल्लाको देश हो’
कोही बनाउन खोज्दै छन्
खरानीलाई नै एटम बम
यस्तो बेला हीरा मोतीको भन्दा पनि
खरानीको मूल्य के कम ?
चिन्न जरूरी छ अहिले
बचेखुचेको खरानीलाई पनि
को को चरम दुरुपयोग गर्दै छन् ?

माउस्लीहरू पुच्छर चुँडाल्दै छन्
छेपाराहरू रङ फेर्दै छन्
विदेशी ब्राण्डेड रक्सीले नुहाएका निरोहरू
सुनपानी छर्केर पतिया लिँदै छन्
मेरा प्यारा भतिजा भतिजीहरू हो !
आखिर घर जलाइए पनि
खरानीको ब्यापार गरिए पनि
परिस्थितिलाई नै हतियार बनाइए पनि
ती क्षेप्यास्त्र, आग्नेयास्त्र , ब्रह्मास्त्र
तीन करोड नेपालीकै टाउका टाउकामा बज्रिने त हो नि !
–अमेरिका ।

प्रतिक्रिया दिनुहोस्