–सुदीपभद्र खनाल–
खुशीमा म सुसेलेर नेपाली गीत गाउँछु
सुस्केरा दुस्खमा हाली नेपाली पन पाउँछु
टेके पहाडमा मैले तनहूँसुर पुग्दछु
मैदान टेकिए मेरै तराई फाँट देख्दछु
जब पुग्छु कुनै ताल हेर्न फेवा म देख्दछु
नदी हेरे म कर्णाली गण्डकी मात्र देख्दछु
श्वास बनी बगेको छ कोशीको धार प्राञ्जल
बसेको छ म भित्रैनै नेपाली रूप उज्वल
कतै हिमालका देखे ताँती नेपाल देख्दछु
म मेरा कविता भित्र नित्य नेपाल लेख्दछु
खै कहाँ म भएँ टाढा मेरो नेपालबाट म
जति टाढा भएँ झन्झन् नेपाली छु सपाट म
नेपाली तन हो मेरो जति टाढा गएपनि
नेपाली मन हो मेरो जति दूर रहेपनि
नेपाली मूल हो मेरो बसाइँनै गएपनि
म नेपाली सधैँ हुन्छु दूरदेश भएपनि
नशा नशा बगेको छ मेरो नेपाल रक्त भै
हाड मासु तथा पानी छ यो नेपालकै सबै
जहाँ जाऊँ जता हेरूँ मात्र नेपाल देख्दछु
दृष्टिमानै बसेको छ मेरो नेपाल लेख्तछु ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्