६ कार्तिक २०८२, बिहीबार

लघुकथाः दोश्रो जुनि

कोलोराडोखबर संवाददाता , October 11th, 2025

–आरसी रिजाल–
बुढाले– ‘ए बुढी… अब म जान्छु जस्तो छ । छोरो लफङ्गोले पक्कै तिमीलाई दुख दिन्छ । सन्तानलाई आफुले संस्कार सिकाउन खोजेरमात्र हुँदोरहेनछ । बाह्य वातावरणले पनि असर पार्दोरहेछ । मैले सक्दो प्रयास गरेकै हुँ । त्यो सुध्रिन्न, अर्ती दिने काम नगर्नु । चुपचाप भगवानलाई सम्झेर बाँकी जिबन गुजार्नु ।यदि अर्को जुनि हुनेभए पक्कै भगवानले हाम्रो मेल गराउलान’ भनेको तेस्रो दिन बुढाले संसार त्यागे ।

छोराबुहारीले बुढी आमालाई सन्चो बिसन्चो कहिल्यै सोधपुछ गरेनन् । उल्टो ‘छिमेकीसंग घरको कुराकानी गर्ने होईन । चुपचाप घरको काममा दल्लिनु’ भन्थे ।

बुढा बितेको करिब सातबर्ष भयो। छोराबुहारीको सधैंका किचलोबाट मन दुखेकी बुढीले आजदेखी माथी स्कुलमा भागवत लगाएकोले बुढाको आत्माको पनि शान्तिको कामना गर्न फुल टिपेर सुन्न गएकी थिइन् । पुस महिनाको छोटो दिनमा पुराण सुनेर फर्कदा झमक्क साँझ पर्‍यो।छोराबुहारी दुबै बमबम भएर, तँलाई बुढी बिरामी नातिलाई हेर्नुपर्छ भनेर पुराण सुन्न मरेकी । पुराण सुनेर पेट भरिएको होला । उतै घिच्न जा भन्दै गलहत्याएर निकाले । नातिलाई छिटै बिसोक होस् भनेर पटुकीमा घुसारेर ल्याएकी पर्सादी मझेरीमा छरपस्ट भए ।

भोको पेट त्यसमाथी ठन्डि । भित्र नबोलाएपछि घुँडा र च्यापु जोडेर बरण्डाको गुन्द्रीमा पल्टिन् । उनको अवस्था देखेर खैरे कुकुर नगिचै टोलाएर बसेको थियो। राती कुकुर आफूसंगै टाँसिएर सुतेको र उसैको तापले आफु निधाएको बिहान चाल पाइन् ।उनले, मलाई जाडोमा माया गर्ने खैरे कुकुर कतै मेरै बुढाको दोस्रो जुनि त हैन भनी सोच्दै थिइन् ।बुहारीले हानेको खरेटोको झट्टीले झसङ्ग भइन् ।संकेत बुझेर त्यही खरेटोले आगन बढार्न लागिन् ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्