२७ आश्विन २०८२, सोमबार

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव नेम्बाङ कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा

कोलोराडोखबर संवाददाता , October 8th, 2025

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले यही असोज २६ मा बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट पार्टीको मंसिर भित्र नियमित अधिवेशन गर्ने र त्यो नसकेमा बिशेष महाधिवेशनमा जाने निर्णय बैठकबाटै गराउन अनुरोध गरेका छन् ।

गत भदौ २३ र २४ मा भएको जेनजीको आन्दोलन पछि नेपालको राष्ट्रिय राजनीतिमा नयॅा कोर्षको शुरूवात भएकोले यसलाई सम्बोधन गर्न मौजुदा नेतृत्वबाट सम्भव नहुने बिज्ञप्तिमा उल्लेख छ ।

महासचिव नेम्बाङले त्यसका लागि कांग्रेस पार्टीभित्र नीति, नेतृत्व र संगठनमा आमुल रुपान्तरण आवश्यक भएको उल्लेख गरेका छन् । बिशेष महाधिवेश सकेर बदलिएको नीति र नेतृत्व लिएर कांग्रेस संविधान, व्यवस्था र देश जोगाउनका लागि घोषित आम चुनावमा सहभागि हुनुपर्ने धारणा नेम्बाङले बिज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

इतिहासको कठिन मोडमा उभिएको कांग्रेसले मंसिर महिना भित्र नियमित अधिवेशन नभए बिशेष महाधिवेशन गरेर पार्टीको नीति र नेतृत्वमा व्यापक रूपान्तरण गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वसंग अन्तिम बिकल्प रहेको नेम्बाङको बिज्ञप्तिमा उल्लेख छ ।

नियमित अधिवेशन नभए बिशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय बैठकबाट गराउनु नै एक उत्तम बिकल्प भएकोले यसलाई अभियानका रूपमा पहलकदमी गर्न र गराउनका लागि बिश्वभरका जनसम्पर्क समितिका नेतृत्व, महासमिति र महाधिवेशन प्रतिनिधिहरू लगायत जनसम्पर्क समितिका साथीहरू र देशैभरका नेतागण एवम् सबै कांग्रेसजनलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले बिज्ञप्ति मार्फत अभियानमा जुट्न हार्दिक आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्