१ कार्तिक २०८२, शनिबार

अक्टोबर १८ मा कोलोराडोमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , October 4th, 2025

-हेम गिरी (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोले आफ्नो वार्षिक सांस्कृतिक कार्यक्रम २०२५ लाई भव्य रूपमा आयोजना गर्ने भएको छ ।

अक्टोबर १८ मा अरोरास्थित ईस्ट मिडल स्कूलमा दिउँसो ३ बजेदेखि सुरु हुने यो कार्यक्रमको मुख्य आकर्षण ‘भ्वाइस अफ नेपाल–४’ का विजेता करण राईको प्रस्तुति हुनेछ। राईसँगै चर्चित गायिका शशी रावल र गायक कमल के. क्षेत्रीले पनि आफ्ना सांगीतिक प्रस्तुतिहरूबाट दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन् ।

“संस्कृति हाम्रो पहिचान – संरक्षण, प्रवद्र्धन र विकास हाम्रो अभियान” भन्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा स्थानीय भुटानी–नेपाली कलाकारहरूको नृत्य र गायन प्रस्तुत गरिनेछ ।

आयोजक समितिका सांस्कृतिक संयोजक विर्ख गुरुङका अनुसार, GBCC ले विगतका वर्षहरूमा जस्तै नेपाली संस्कृति, कला, भाषा र संगीतको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उनले थपे, “यो वर्षको कार्यक्रमले विविध सांस्कृतिक र सांगीतिक प्रस्तुतिहरू मार्फत दर्शकहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्नेछ ।”

कार्यक्रममा प्रवेश निःशुल्क छ र नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुतिहरूको रमाइलो अनुभव गर्न सकिनेछ। आयोजक समितिका अध्यक्ष चूडा बरालले कार्यक्रमको सफलताका लागि स्थानीय समुदायको सहभागिता र समर्थन अपरिहार्य रहेको बताए ।

साथै, कार्यक्रममा प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गर्ने योजना पनि रहेको छ।
यो सांस्कृतिक कार्यक्रम कोलोराडोको भुटानी–नेपाली समुदायका लागि अविस्मरणीय उत्सव बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्