-लालगोपाल सुवेदी-
लिपि लोप हुँदै छ
प्रतिलिपिहरू छन् असरल्ल
पृथ्वी पृथ्वी हो
पृथ्वीको प्रतिलिपि पृथ्वी होइन
जे देखिन्छौ ऐनामा
त्यो पनि तिमी होइनौ
जुन पानीले छोयो तिम्रो गोडा
जेलाई तिमीले नदी भन्यौ
अहिले त्यो पानी छैन
अहिले त्यो नदी छैन
ए बुढा बा
आकाशलाई झ्यालखाना बनाउन सकिँदैन
जे बोल्यौ तिमीले
कसैले त मन्त्र पनि भन्लान्
कसैले ध्वनि प्रदूषण भन्लान्
खारिएर बन्ने हो सुन
कोही पित्तल बन्लान्
कोही बन्लान्
चौबिस क्यारेटकै नम्बरी सुन
यहाँ के देख्दै छु म
यो विशाल काष्ठमण्डपमा
काठ खाने धमिरा ?
यहाँके के देख्दै छु म
घरको जगमा एक हूल मुसा
र आँटीको भकारीमा एक जमात घून ?
धमिराहरू खानकै लागि जन्मेका हुन्
मुसाहरू जग खोस्री खोस्री
घर लडाउनकै लागि तैनाथ छन्
घूनहरू अघाएनन् कहिल्यै
भोलिका बाबु नानीहरूको पेट मार्न
गहुँ, धान, मकै धुस्नो पार्दै छन्
निकै बढेको छ प्रदूषण
तिनको श्वास फेराइमा छ कार्बन
वाक्क दिक्कै बनायो फोस्रो वाक्पटुताले
शिशुहरू कान थुन्दै छन्
कोसी कोसी रहेन
वागमती बागमती रहेन
गण्डकी गण्डकी रहेन
जिन्दगी जिन्दगी रहेन
कसले बनायो यो तासको घर ?
जोरीपरी गरिरहेछन् उपहास
फगत उपहास
बा आमाहरू दास जन्माइरहेछन्
धान झुल्ने ठाउँमा घरैघर देखिन्छ
घर ठडिने ठाउँमा बनमारा र खर भेटिन्छ
भोलि के होला ?
नानीहरूले बुझिसके पृथ्वी के हो ?
पृथ्वी कसको हो ?
नानीहरू भन्दा विवेकी अरू को छन् ?
थोरै बोल्छन्, मन्त्रवत बोल्छन् ?
नानीहरू स्वयम् सिर्जना हुन्
हावाले , पानीले, मौसमले,
र कान भरेको बतासले ती
परिवर्तन हुँदैनन्
नानीहरू सक्कल बमोजिम नक्कल भनेको
सुन्न कत्ति मन पराउँदैनन्
आमाको नामबाट नागरिकता लिने भैसके
आजका नानीहरू
नानीहरू आमाको अपमान गर्दैनन्
नानीहरू पृथ्वीविरुद्ध जान सक्दैनन्
आत्माबाटै सक्दैनन्
पृथ्वीको मान गर्छन्
र पृथ्वीको पनि सम्मान गर्छन्
बिरुवाहरू देख्छन् अक्सिजनकै मात्र सपना
नानीहरू वायुप्रदूषण र ध्वनिप्रदूषणको विपक्षमा छन्
बुढा बा ! तमाखु खाएर
ख्वाङ्ख्वाङ् नगर्नुहोस् ।
-बोस्टन, अमेरिका ।
प्रतिक्रिया दिनुहोस्