नेपाल । नौ वर्षीय बालकवि इसान्भी बरालद्वारा लिखित सचित्र बालकविता ‘चिरवीर’, युवा लेखक मुस्कान घिमिरे लिखित पुस्तक ‘हेल्लो ब्रेभ हार्ट्स’ र वरिष्ठ बालसाहित्यकार डा छायादत्त न्यौपानेद्वारा लिखित बाल निबन्ध सङ्ग्रह ‘मेरो आफ्नै गाउँ’को विमोचन गरिएको छ ।
संस्कार पब्लिकेसनको आयोजनामा भएको सो कार्यक्रममा वरिष्ठ बालसाहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा कौसिला रिसाल, साहित्यकारहरु मित्रलाल पङ्गेनी, तीर्थ गुरुङ, अरुण शर्मा, देवराज सिम्खडा र समाजसेवी लोकबहादुर टण्डनले संयुक्त रुपमा विमोचन गर्नुभएको हो । पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु डा छायादत्त न्यौपाने, तीर्थ गुरुङ, समाजसेवी लोकबहादुर टण्डन र बाल प्रतिभा प्राप्ति श्रेष्ठलाई साहित्य र कला क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
वरिष्ठ साहित्यकार मित्रलाल पंगेनी, प्राज्ञ सदस्य डा. कौसिला रिसाल, इशिका श्रेष्ठ र कक्षा ८ मा अध्ययनरत छात्रा इसिका श्रेष्ठले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा विमोचित पुस्तकहरुले अहम् भूमिका निर्वाह गर्नसक्ने टिप्पणी गर्नुभएको थियो ।
वरिष्ठ बालसाहित्यकार ज्ञवालीले अहिलेको सामाजिक परिवेश अत्यन्तै भयावह देखिएको अवस्थामा हरेक व्यक्तिलाई पठन संस्कृतिमा जोड्न सक्नुपर्ने र यस्ता पुस्तकहरुले समाज र देशलाई विशेष योगदान पुर्याउन सक्छ भन्नुभयो ।
पब्लिकेशनका निर्देशक शङ्कर प्रधानले पठन संस्कृतिले नै समाजलाई विकासको गतिमा अघि बढाउन सकिन्छ भन्ने धारणा राख्दै संस्कार पब्लिकेसनले यसअघि पनि विभिन्न प्रकारका पुस्तकहरू प्रकाशन गर्दै आएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्