१७ आश्विन २०८२, शुक्रबार

साउन-भदौ महिनामा आयात निर्यात दुबै बढ्यो

कोलोराडोखबर संवाददाता , September 24th, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिना (साउन–भदौ) मा नेपालको वैदेशिक व्यापारमा आयात १६ प्रतिशतले बढेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, आयात १६.२३ प्रतिशत बढेको हो ।

सोही अवधिमा निर्यात झन्डै ८८.५७ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांक छ । दुई महिनमा तीन खर्ब पाँच अर्ब १५ करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८१–८२ को साउन–भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको आयात भएको थियो । त्यस्तै, निर्यात गत आर्थिक वर्षको दुई महिनामा २५ अर्ब ९ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

निर्यात बढे पनि व्यापार घाटा अझै उच्च छ । गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा थियो । चालु आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यो ८.५९ प्रतिशतको वृद्धि हो ।

समग्र वैदेशिक व्यापार भने २२.५४ प्रतिशतको बढेको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको सोही अवधिको दुई खर्ब ८७ अर्ब ६३ करोड रुपैयाँ रहेको वैदेशिक व्यापार २२.५४ प्रतिशत बढेर तीन खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

निर्यात बढ्दा आयात–निर्यात अनुपातमा केही सुधार भएको छ । गत वर्ष १०.४६ गुणा रहेको अनुपात यस वर्ष घटेर ६.४५ गुणामा झरेको छ । यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ८.७२ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ । आयातको हिस्सा भने ९१.२८ प्रतिशतबाट घटेर ८६.५८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्