१७ आश्विन २०८२, शुक्रबार

उपल्लो मुस्ताङको कथा ‘तोरकीन’ उपन्यास सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 24th, 2025

नेपाल । युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ मंगलबार सार्वजनिक गरिएको छ ।

माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवं भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ ।

उपन्यासबारे लेखक समर्पण भन्नुहुन्छ, “मैले रित्तिँदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु ।”

उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ । स्थानीय ल्होवा भाषामा ‘तोरकीन’ को अर्थ हराउँदै जानु, लोप हुनु हो ।

सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ । महङ्खवाकाङ्क्षी किताबहरूको सूचीमा प्रकाशन गरिएको यस उपन्यासमार्फत नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ ।

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय हुनुहुन्छ । उहाँ ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ पुरस्कृतसमेत हुनुभएको थियो । आज सार्वजनकि गरिएको ३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्