१९ कार्तिक २०८२, बुधबार

एनआरएनए एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. बद्री केसीलाई जिम्मेवारी

कोलोराडोखबर संवाददाता , September 22nd, 2025

नेपाल । एनआरएनए एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. बद्री केसीलाई जिम्मेवारी दिइएको छ । सेप्टेम्बर १९ मा बसेको पदाधिकारी बैठकले सबै पक्षसँग परामर्श गरी एकताको मार्गचित्र प्रस्ताव गर्न अध्यक्ष डा. केसीलाई जिम्मेवारी तोकेको हो ।

संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार उक्त बैठकले सबै पक्षका साथीहरूले संयुक्त रूपमा अक्टोबर ११ मा एनआरएनए डे मनाउने वातावरण बनाउने र त्यसै दिन एकताको रोडम्याप प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्षलाई दिएको छ ।

अध्यक्षले बैठक भएको दिनदेखि नै यसतर्फ काम अगाडि बढाउनुभएको छ। अतः बैठकले दिएको म्यान्डेट अनुसार हामी सबैले अध्यक्षलाई आन्तरिक रूपमा सहयोग गर्न सके मात्र तार्किक निष्कर्षमा पुग्न सकिन्छ। हाम्रा व्यक्तिगत चाहना, कुण्ठा र अभिव्यक्तिले अहिलेको एकताको पहललाई अवरुद्ध गर्न सक्छ ।

एनआरएनएलाई रिर्ब्रान्डिङ गर्ने यो सुनौलो अवसर हो। एनआरएनएभित्रको मुख्य समस्या भनेको 3P होः Politics, Purse (पैसा) र Power – अर्थात् एनआरएनएको नेतृत्व लिन करोडौँ रुपैयाँ खर्च गर्ने, राजनीतिक दलका नेताको घर–दैलो चाहर्ने र सबै खालका शक्ति साम, दाम, दण्ड, भेद प्रयोग गर्ने प्रवृत्तिको अब अन्त्य हुन जरुरी छ। अबको एकता २०२१ मा जस्तो व्यक्तिको व्यवस्थापन गरेर होइन, बरु 3P मुक्त एनआरएनए बनाउन स्पष्ट मार्गनिर्देशकसहितको हुनुपर्छ ।

अक्टोबर ११ सम्म एकताको रोडम्याप आउन सकेन भने पनि वैधानिक प्रक्रियामा अवरोध आउने छैन, र त्यस अवस्थामा नयाँ सिराबाट एकताको पहल जारी राख्नुपर्ने हुनसक्छ ।

सेप्टेम्बर १९ को बैठकले नेपालको पुनर्निर्माणका लागि अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा सात उपाध्यक्ष र महासचिवको नेतृत्वमा विभिन्न समितिहरू गठन गरेको छ । समितिको कार्ययोजना छिट्टै सार्वजनिक गरिनेछ ।

नेपालमा भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै अक्टोबर ११–१४ मा हुने भनिएको एनआरएनएको महाधिवेशन स्थगित भएको सर्वविदित नै छ ।

प्रतिक्रिया दिनुहोस्