१७ आश्विन २०८२, शुक्रबार

एनआरएनएलाई अझ सशक्त कसरी बनाउने ?, महासचिव गौरीराज जोशीको प्रस्ताव (विचार)

कोलोराडोखबर संवाददाता , September 22nd, 2025
-गौरीराज जोशी-
नेपाल अर्को चरणको नयां अध्यायमा प्रवेश गरेको छ । युवाहरुले सुशासन, छिटो आर्थिक विकास, पारदर्शीता चाहेको स्पष्ट गरेका छन् । यसैका लागि उनीहरु सडकमा आए । अबको समय देशका लागि अवसर र चुनौती दुवै हो । चुनौती भन्दा पनि यसलाई हामीले देशमा सुशासन र आर्थिक रुपमा मजबुत वनाउने अवसरका रुपमा लिनु पर्छ ।
विदेशमा वस्ने तपाई हामी नेपालीहरु पनि आर्थिक विकास सुशासन पारदर्शीयताका पक्षधर हौं । हामी विदेशमा वस्ने नेपालीका लागि देशका यो परिवर्तन अवसर पनि हो । तर, यसका लागि हामीले पनि विगतमा भएका हाम्रा कमी कमजोरीहरु सुधारेर जानु पर्छ । यसका लागि गैर आवासिय नेपाली संघ(एनआरएनए)मा पनि नयां चरणवाट अगाडी बढ्न सक्नु पर्छ । यसका लागि म जुनसुकै त्याग गर्न पनि तयार छु ।
यहांहरुलाई थाहानै छ विदेशमा वस्ने हामी नेपालीहरु पनि विभाजित भएका छौं । अन्तराष्ट्रिय समन्य परिषद(आईसीसी) देखी केही राष्ट्रिय समन्य परिषद (एनसीसी) सम्म विभाजन छ । नयां परिस्थितीमा हामीले विदेशमा वस्ने नेपालीका मुद्दाहरु सम्वन्धित निकायसम्म लैजांन पनि एक जुट हुनुको विकल्प छैन । एनआरएनएको आधिकारिताका विषयमा सर्वोच्च अदालतमा मुद्दा छन् । यी मुद्दाले तत्काल किनारा पाउने अवस्था कम छ । देशको विद्यमान संकटमा ती मुद्दाले किनारा पाउन अझै लामो समय लाग्छ सक्छ । सहमती अनुसार यी मुद्दा पनि फिर्ता लिनु पर्छ ।
अव कसरी जाने त ? मेरो व्यक्तिगत विचारमा हामीले आईसीसीमा विद्यमान दुवैवटा समिति खारेज गरौं । सहमतीमा एनआरएनएका संस्थापकहरु जस्तै रामप्रताप थापा, भिम उदास जस्ता यसै अभियानमा सकृय व्यक्तिलाई राखेर एउटा समिति वनाउन सकिन्छ । यो समितिलाई नै मजुबत एनआरएनएका लागि नयां नेतृत्व छान्ने अधिकार पनि दिऊं । विवादित एनसीसीहरुमा पनि नयां सदश्यता खुला गरी फेरी निर्वाचन गर्ने जिम्मेवारी पनि त्यही समितिलाई दिऊं । यही समितिले निर्वाचन गराएर नयां कार्यसमितिलाई सुम्पिंदा हाम्रा समस्याहरु सकिन्छन् । विवादित एनसीसीको वर्तमान दुवै कार्यसमितिलाई भंग गरी नयां निर्वाचन गराउंदा ती देशको समस्या समाधान भईहाल्छ ।
एनआरएनएलाई मजबुत वनाउन विधान संशोधन, तेस्रो पक्षलाई एमआईएस प्रणालीको अनुगमन गर्ने जिम्मेवारी दिने कार्य पनि त्यही समितिले गरोस । यसरी अगाडी वढ्दा नै हामीले फेरी एनआरएनएलाई अझ सशक्त वनाउन सकिन्छ भन्ने मलाई लाग्छ । यसलाई पनि म पद त्याग गर्न तयार छु । तपाईहरुले पनि यसमा साथ दिनु हुने छ भन्ने मलाई विश्वास छ । विदेशमा वस्ने धेरै भन्दा धेरै नेपाली सहभागी हुने गरी निर्वाचन गराउने गरी विधान संशोधन गर्न सकिन्छ । एनआरएनएलाई अझ सशक्त वनाउन सवैले सहयोग गर्नु हुने छ भन्ने मेरो आशा छ ।
अन्तिममा देशलाई आर्थिक रुपमा सम्पन्न वनाउन विदेशमा वस्ने नेपालीको भुमिका अझ वढाउनु पर्ने अवस्था छ । देशमा अझ वढी लगानीको आवश्यकता पर्दै छ । यो अवस्थामा हामी फुटेर वस्ने होइन जुटेर जानु पर्छ भन्ने पक्षमा म छु । यी मेरा व्यक्तिगत सुझाव हुन् ।
गौरीराज जोशी
महासचिव – एनआरएनए

प्रतिक्रिया दिनुहोस्