२ आश्विन २०८२, बिहीबार

जेनजी आन्दोलनको असरः पर्यटकीय गतिविधिमा कमी

कोलोराडोखबर संवाददाता , September 18th, 2025

नेपाल । जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ ।

पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो । पर्यटकीय गतिविधि न्यून भएपछि हङकङको क्याथे प्यासिफिक एयरवेजले नेपाल उडान रोकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हङकङ–नेपाल रुटमा उडान गर्दै आएको क्याथे प्यासेफिकले अजोज १४ सम्मलाई उडान रोकेको छ । यो कम्पनीले २८० सिट क्षमताको वाइडबडी जहाजमार्फत दैनिक काठमाडौँमा उडान गर्दै आएको थियो ।”

हाल हङकङमा नेपाल वायुसेवा निगमले सातामा चार दिन उडान गर्दै आएको छ । क्याथेको उडानमार्फत यात्रु हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा जाने गरेका थिए ।

होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले पछिल्ला राजनीतिक घटनाक्रमको असरले होटेल क्षेत्रमा प्रत्यक्ष असर पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्प, नाकाबन्दी र कोरोना महामारीपछि तङ्ग्रिएको पर्यटन क्षेत्रमा प्रदर्शनको असर देखिन सुरु भइसकेको छ । बढी विदेशी पर्यटक आउने असोज–कात्तिकको समयमा होटेल बुकिङ गरिसकेका पर्यटक आउन डराइरहेका छन् भने केहीले बुकिङसमेत रद्द गरेको सुन्नमा आएको छ ।”

आन्दोलनका क्रममा स्वदेशी तथा विदेशी ब्रान्डका होटेलमा क्षति पुगेको र केही होटेल मर्मतसम्भार तथा पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्