३१ भाद्र २०८२, मंगलवार

सहिद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने मन्त्रिपरिषद्को निर्णय

कोलोराडोखबर संवाददाता , September 16th, 2025

नेपाल । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले सहादत व्यक्तिलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकपछि गृहमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार सहादत प्राप्त गर्ने व्यक्तिलाई राष्ट्रिय झन्डा ओडाउने निर्णय पनि भएको छ ।

मन्त्री अर्यालले सहिद परिवारलाई क्षतिपूर्ति १० लाख रुपैयाँ दिइँदै आएको र अहिले पनि १० लाख रुपियाँ क्षतिपूर्ति दिने र अन्य खर्चबापत पाँच लाख रुपियाँ गरी १५ लाख रुपैयाँ दिने निर्णय भएको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले क्षतिपूर्तिको रकम छुट्याउने र गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट वितरण गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्