-सुदीपभद्र खनाल-
बर्बरिक भएको छ मेरोपनि दृष्टि
युद्दमैदानमा चाहे जोसुकै लडिरहेको होस्
हिजो उसले देखेजस्तै
मेरो दृष्टिले पनि
केवल उसैको खेल देख्छ
तपाईंलाई थाह नहुन सक्छ
हार्नेलाई थाहा नहुन सक्छ
जित्नेलाई पनि थाहा नहुनसक्छ
तर उसलाई सबै थाहा छ
सबै सबै घटना र परिघटना
पात्र र प्रवृत्ति
सूत्र र सूत्राधार
सबै उसैको अदृष्य नियन्त्रणमा छन् ।
समग्र घटनाक्रमहरूको आँखिझ्यालबाट
बर्बरिक दृष्टिमा
म देखिरहेछु
उसलाई र उसैको इसारामा
एक आपसमा लडिरहेकाहरू
सबैलाई
सर्वनाशको यो कोलाहल बीच
चूपचाप हेरिरहेछु म
समयको कठघरामा
स्वयम् बर्बरिक भएर उभिँदै
सही होस् या गलत
प्रतिकृया बिहिन भएर
केवल नियालिरहेछु हेरिरहेछु ।
हिमालयको काखमा
जलिरहेको हस्तिनापुर
चलिरहेको छद्म युद्द
र देखिरहेछु आत्म दृष्टिले
जताततै खेलिरहेको उ मात्रै
जितिरहेको उ मात्रै
र निरन्तर हारिरहेको मेरो देश
लाग्छ किनाराको साक्षी
म बर्बरिक भएको छु ।
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्