२८ भाद्र २०८२, शनिबार

कविताः त्यो को हो ?

कोलोराडोखबर संवाददाता , September 13th, 2025

-लालगोपाल सुवेदी-
चोरी भएको थियो दूध
रातो रगत मन पर्दैनथ्यो त्यसलाई
बग्यो तात्तातो
रातो रगत सडकमै
रगत त्यसको
दूधजस्तै निख्खुर सेतो
चिनौं हामी को हो त्यो ?

र् याल त निकाल्छन् सबैले जिब्रोबाट
भोकले पनि हुन सक्छ
लोभले पनि हुन सक्छ
त्यसले त पसिनै निकाल्यो जिब्रोबाट
चिनौं हामी त्यो को हो ?

भन्थे कसै कसैले
साडी लगाएर भाग्यो रे त्यो
टाउकोबाटै जन्मे सन्तान त्यसका
राति राति अन्धमुष्ट अन्धकारमा
खान्छ त्यसले निरीह अबोध जनको रगत
अक्सर निदाएकै बेला खान्छ
चिनौं हामी त्यो को हो ?

भरमार सपना बाँड्छ त्यसले
भयङ्कर फ्रायडवादी हो त्यो
गर्छ नौटङ्की नाटक
कल्पित भ्रम न हो नाटक
भ्रम हो सपना आफैमा
चुँडाल्छ पुच्छर वाल्ल पारेर दर्शकलाई
भागि पो हाल्छ कहाँकहाँ ?
चिनौं हामी त्यो हो ?

पाँचतारे होटलमा
चौरासी ब्यन्जन खायो
विदेशी ब्राण्डको शताब्दी पुरानो रक्सीमा नुहायो
गुची चस्मा लगायो र कम्मर मर्कायो
लर्खराए त्यसका खुट्टाहरू दुबै
सायद त्यसले होस हरायो
अघाएपछि रुने स्वभाव हो त्यसको
रोयो दुनियाँको मनै पगाल्ने गरी
जाजसरम हराएर रोयो, धर्धरी रोयो
चिनौं हामी त्यो को हो ?
कसको हुन्छ सेतो रगत?
कसले निकाल्छ जिब्रोबाट पसिना ?

कसले उब्जाउँछ टाउकामै अण्डा
र सन्तानहरू पैदा गर्छ?
कसले चुँडाल्छ आफ्नै पुच्छर भुइँमा
र अर्को भ्रमका लागि भागिहाल्छ ?
को हो किर्नोझैं अघाएर रुने प्राणी ?
अजिब अजिबका प्राणी जन्मेछन् यस ग्रहमा
चिनौं हामी ती को को हुन् ?

-अमेरिका

प्रतिक्रिया दिनुहोस्