२७ भाद्र २०८२, शुक्रबार

नेपालका बैंक तथा वित्तीय संस्थाहरु बिहीबारदेखि सञ्चालनमा

कोलोराडोखबर संवाददाता , September 12th, 2025

नेपाल । जेन जी प्रदर्शनका कारण भदौ २३ देखि २५ गतेसम्म बन्द रहेका बैंक तथा वित्तीय संस्था बिहीबारदेखि सञ्चालनमा आएका छन् ।

प्रदर्शनपछि तोडफोड र आगजनीका घटना बढेपछि बैंक तथा वित्तीय संस्थाले कार्यालय खोलेर कारोबार गरेका थिएनन् । यद्यपि उक्त अवधिमा डिजिटल कारोबार भने यथावत् नै थियो ।

बिहीबार बिहान नेपाली सेनाले बैंक तथा वित्तीय संस्थासहितका कार्यालयसम्म परिचयपत्र देखाएर आवतजावत गर्न सक्ने सूचना सार्वजनिक गरेपछि यी संस्थाले सीमित रूपमा कार्यालय खोलेर कारोबार सञ्चालन गरेका हुन् ।

सेनाको उक्त सूचनापछि नियामक नेपाल राष्ट्र बैंकले पनि व्यावसायिक निरन्तरतालाई ध्यानमा राख्दै सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्न निर्देशन दिएको थियो । जस अनुसार अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा जोखिमका आधारमा घरबाटै पहुँच (रिमोट एक्सेस) मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

सञ्चालनमा आएका शाखा, एटिएम र उपलब्ध सेवासम्बन्धी सूचना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि राष्ट्र बैंकको निर्देशन थियो ।

प्रतिक्रिया दिनुहोस्