-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले आयोजना गरिएको इन्द्रजात्रा भब्यताका साथ सम्पन्न भएको छ ।
कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः समुदायले मनाउने येंयाः बोल्डर शहरको बेण्डसेलमा आइतबार कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा, धिमेनाच, लाखेनाच तथा बिभिन्न नेवाः सांस्कृतिक नृत्य संगै भब्यरूपमा सम्पन्न भएको हो ।
इन्द्रजात्रा गणेश, कुमारी, अकाश भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो भने, रथयात्रा कार्यक्रमको प्रमुख अतिथी बोल्डरकी डेपुटी मेयर लरेन फोल्कर्ट्सले कुमारीरथमा अंकित भैरवलाई फुलमाला लगाएर कार्यक्रम शुरू गरेकी थिइन् ।
कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार, नेपालीभाषी बाबा आमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी अधिकांश दाजुभाइ दिदी बहिनीहरू नेवाः समुदायको परंपरागत पहिरहनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाइ हेरी रहदा आफुलाइ बसन्तपुर ढवलीमा बसेर कार्यक्रम हेरेको भान हुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथी डेपुटी मेयर लरेन फोल्कर्ट्स र हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तब्य दिएका थिए ।
दिउँसो १२ बजे देखी ४ बजेसम्म संचालन भएको कार्यक्रम अतिशा बज्राचार्य र सबिता श्रेष्ठले संयूक्त रूपमा संचालन गरेका थिए । कार्यक्रमको अन्तमा सहभागी सबैलाइ प्रसाद स्वरूप समेवजी बितरण गरिएको थियो ।
इन्द्रजात्रा काठमाडौं , भक्तपुर, ललितपुर, लगायत नेवाः समुदायको बस्ती रहेका स्थानमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवाः समुदायले मनाउने जात्रा हो । जात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन सुरू भई मंगल चौथीसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी सम्पन्न गरिन्छ ।
यस अवसरमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । काठमाडौंमा मजिपा लाखे नाच तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसि प्रदर्शन गरिन्छ भने भक्तपुरमा महाकाली नाच, दसअवतार नाच नचाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्