२३ भाद्र २०८२, सोमबार

ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधि केसीएससीलाई

कोलोराडोखबर संवाददाता , September 8th, 2025

–हेम गिरी (डेनभर, कोलोराडो) । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली भाषी भुटानी समुदायको सक्रिय संस्था ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (जीबीसीसी) ले सेप्टेम्बर ६ मा आयोजना गरेको वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।

कोलोराडोमा रहेका नेपाली भाषी भुटानी समुदायको एकता कायम राख्नुका साथै खेलकुदमार्फत सामाजिक सद्भाव र आपसी मेलमिलाप बढाउने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय नेपाली भाषी समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतियोगितामा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा पूल एमा लिबर्टी, एफसी, र ड्रुक्युल तथा पूल बीमा सीएनटी, केसीएससी, र युंग स्टारले भाग लिएका थिए। खेल तालिकाअनुसार पूल एमा लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल र लिबर्टी भर्सेस ड्रुक्युलबीच खेलहरू सम्पन्न भए ।

यस्तै, पूल बीमा सीएनटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार, र सीएनटी भर्सेस युंग स्टारबीच प्रतिस्पर्धा भएको थियो । पहिलो सेमिफाइनलमा पूल एको विजेता ड्रुक्युल र पूल बीको उपविजेता सीएनटीबीच, भने दोस्रो सेमिफाइनलमा पूल बीको विजेता केसीएससी र पूल एको उपविजेता लिबर्टीबीच रोमाञ्चक खेलहरू भए । फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलको विजेता सीएनटी र दोस्रो सेमिफाइनलको विजेता केसीएससीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको फाइनल खेलमा केसीएससी र सीएनटीबीच कडा टक्कर देखियो। उत्कृष्ट प्रदर्शन गर्दै केसीएससीले सीएनटीलाई पराजित गर्दै प्रथम उपाधि हात पारेको छ ।

विजेता टोलीमा क्याप्टेन इरोश राई चाम्लिङसहित खसमो राई चाम्लिङ, टेइसन राई चाम्लिङ, प्रवेश राई चाम्लिङ, सन्दीप राई, अमोल राई, र सयल राई रहेका थिए। उपविजेता सीएनटी टिमको नेतृत्व क्याप्टेन दिनेश राईले गरेका थिए, जसमा प्रकाश राई, सुरेन राई, पुकार राई, अव्राम खनाल, हेम खड्का, मोनि पाण्डे, र रमेश कार्की समावेश थिए ।

विजेता टोली केसीएससीलाई नगद पुरस्कार १,००० डलरसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो, भने उपविजेता सीएनटीले ७०१ डलरसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको ‘म्यान अफ द टुर्नामेन्ट’ को सम्मान केसीएससीका शनिप राईले हात पारे। साथै, स्थानीय नेपाली भाषी भुटानी बालिकाहरूबीच आयोजित प्रदर्शनात्मक खेलले समारोहमा थप रौनकता थपेको थियो ।

यो विशेष कार्यक्रमको उद्घाटन आयोजक समितिका अध्यक्ष प्रो. चुडा बरालको सभापतित्वमा भएको थियो, जसमा एनआरएन अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पा र चन्द्र गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिहरूमा कोलोराडोका विभिन्न क्षेत्रका नेपाली भाषी भुटानी समुदायका प्रतिनिधिहरू समावेश थिए। प्रतियोगिताका प्रायोजकहरूमा आर एन्ड ए होमकेयरका केदार खतिवडा, स्प्रेड डेकेरका नारायण उप्रेती, राजु धौरली, इनडिपेन्डेन्ट मोर्टगेज तथा नेपाली ट्याक्स फाइलका दिलिप खड्का, स्पायर फाइनान्सियल मोर्टगेज एडभाइजर गंगा कोइराला र आयोजक समितिका पूर्वअध्यक्ष तथा एभरेष्ट एडल्ट होम केयरका सोम बराल र मनि दाहाल रहेका थिए ।

अतिथिका रूपमा केसीएससीका अध्यक्ष सह सुब्बा, कोलोराडो गुरुङ कम्युनिटीका ढोज गुरुङ, जीबीसीसीका स्थापना सदस्य तथा कोलोराडो हिन्दु कम्युनिटीका शिव भट्टराई, वरिष्ठ नायक नवराज श्रेष्ठ र कोलोराडो लक्ष्मीनारायण भजन टोलीकी भवानी न्यौपानेको सहभागिता रहेको थियो । आयोजक समितिका खेलकूद संयोजक ओम ढुङ्गेलले यो प्रतियोगिताले कोलोराडोमा नेपाली समुदायको सांस्कृतिक र खेलकुदजन्य गतिविधिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

यो समारोहले समुदायको एकता र खेलप्रतिको उत्साहलाई उजागर गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तरता पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्