२३ भाद्र २०८२, सोमबार

नेपालमा आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै

कोलोराडोखबर संवाददाता , September 7th, 2025

नेपाल । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

पञ्चाङ्गहरूका अनुसार १०ः११ मा ग्रहण स्पर्श, ११ः १५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मिलन र १:४१ बजे मोक्ष हुनेछ । नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्राडा जयन्त आचार्यले जानकारी दिए।

फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ । अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ। मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ। यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फलादेश गरिएको छ। धनुलाई श्रीप्राप्ति, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएकालाई व्यय फल प्राप्त हुने बताइएको छ।

शतभिषा र पूर्वाभाद्रपदा नक्षत्र र कुम्भ राशि भएकालाई यो ग्रहणले अति कष्ट दिने पञ्चाङ्गमा उल्लेख छ।

पौराणिक मान्यताअनुसार ग्रहणको केही समयअघिदेखि सुतक लाग्छ । दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहण अवधिमा मन्त्रजप र हवनजस्ता कार्य गर्न निर्देश गरिएको छ। शयन, खानपिन तथा मैथुन जस्ता कार्यलाई निषेध गरिएको छ।

यो वर्ष फागुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमाका दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने पञ्चाङ्गमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्