नेपाल । ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ ।
विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो । कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ । प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।
शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले स्पष्ट पार्नुभयो ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गर्नुभयो । समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिनुभयो ।
सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए ।
महाधिवेशनमा शनिबार भएको विमर्श र आइतबार हुने समूहगत विमर्शलाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ ।
प्रतिक्रिया दिनुहोस्