२१ भाद्र २०८२, शनिबार

डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण

कोलोराडोखबर संवाददाता , September 5th, 2025

नेपाल । डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण गरिएको छ ।

पुस्तकमा विचार, व्यवहार, व्यवस्थापन र विश्लेषण गरी चार पक्षलाई फरक तर परस्पर सम्बन्धित ढाँचामा प्रस्तुत गरिएको छ । यस पुस्तकले वैकल्पिक राजनीति र व्यवस्थापनका विभिन्न पक्षलाई नयाँ दृष्टिकोणबाट विश्लेषण पनि गरेको छ ।

पुस्तक लोकार्पण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले लेखकको मौलिक अनुभवले पुस्तकलाई अर्गानिक स्वरूप दिएको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि सही नीति, नियत र नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै ‘वैकल्पिक सोच’ ले आन्तरिक लोकतन्त्र र ‘लिबरल डेमोक्रेसी’ लाई सुदृढ बनाउन मद्दत गर्ने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक वैकल्पिक राजनीतिज्ञका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजको समाजमा परम्परागत ढाँचामा मात्रै नअड्किई नयाँ दृष्टि र वैकल्पिक सोच आवश्यक रहेको र पुस्तकले त्यही बाटो देखाएकाले सबैलाई अध्ययन गर्न आग्रह गर्नुभयो ।

प्रकाशक भूपेन्द्र खड्काले व्यक्तिगत जीवनका सामान्य समस्यादेखि व्यवस्थापनका जटिल प्रश्नसम्मका लागि वैकल्पिक उपाय खोज्ने दृष्टिकोण कृतिले प्रदान गरेको बताउनुभयो । लेखक डा। केसीले यो पुस्तक कसैलाई तोड्ने नभई जोड्ने उद्देश्यले लेखिएको बताउनुभयो । उहाँले यस पुस्तकले व्यक्तिगत मात्र नभई संस्थागत र सामाजिक रूपान्तरणलाई पनि गति दिने विश्वास व्यक्त गर्दै सोच, व्यवहार, व्यवस्थापन र विश्लेषणमा नवीन अभ्यास गर्न पाठकलाई प्रेरित गर्ने प्रयास गरिएको जानकारी दिनुभयो ।

पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्