१९ भाद्र २०८२, बिहीबार

१५ लाख रुपियाँ धरौटी बुझाएर सांसद बस्नेत रिहा

कोलोराडोखबर संवाददाता , September 4th, 2025

नेपाल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेककी राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहेकी गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन् ।

उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् । उनीअदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएको अर्यालले बताइन् ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राप्रपाबाट बर्दियाकी प्रतिनिधिसभा सदस्य बस्नेत, उनका ज्वाँई नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउपूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीले पनि अदालतमा उपस्थित भएर छानविनलाई सहयोग गर्न निर्देशन दिएको थियो। तर उनी एक वर्षपछि मात्र अदालतमा उपस्थित भएकी हुन् ।

सांसद बस्नेतले चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्था, बर्दियाको नमस्ते बचत तथा ऋण सहकारी र नवलपुरको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट आफ्ना ज्वाई नगेन्द्रबहादुर रिमाल र अन्य साथीमार्फत रकम निकासी गराएर हिनामिना गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्