१७ भाद्र २०८२, मंगलवार

अफगानिस्तानमा भूकम्पमा परेर ८ सय भन्दा बढीको मृत्यु

कोलोराडोखबर संवाददाता , September 2nd, 2025

नेपाल । अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा ८ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।

देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भन्नुभयो ।

उहाँका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।

“अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”, संयुक्त राष्ट्रसङ्घले एक्समा जनाएको छ । राष्ट्रसङ्घका अनुसार टोलीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु नङ्गरहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर टाढा आठ किलोमिटर गहिराइमा थियो । सामान्यतया सतह नजिकैको केन्द्र भएको भूकम्पले गहिरो भूकम्पभन्दा बढी क्षति पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस्