१६ भाद्र २०८२, सोमबार

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , September 1st, 2025

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये अरोराको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्त समारोह अरोरा स्मोकी हिलस्थित चर्चमा आयोजित एक समारोहकाबीच अगस्त ३० तारिखमा सम्पन्न भयो ।

यस कार्यक्रममा झण्डै १०० जनाको समुपस्थितिमा करिब ३ दर्जन बालबालिका यहाँ दीक्षित भएका थिए । स्मरणीय छ, यस्तै दीक्षान्त समारोह गत हप्ता नर्थग्लेन पाठशालाका विद्यार्थीहरूका लागि नेपाली घरमा आयोजना गरिएको थियो ।

कार्यक्रमका सञ्चालक समाजसेवी राजु खनालले सञ्चालन गर्नुभएको यस कार्यक्रमको शुभारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका सचिव परिवेश शर्माले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई स्वागत गर्दै पाठशाला सञ्चालनको उद्देश्यबारे अवगत गराउनुभएको थियो ।

यस कार्यक्रममा दीक्षित विद्यार्थी सन्सा कार्कीको नाच, शिक्षिका सुधा बरालको अनुभव तथा अपेक्षा, प्रारम्भिक कक्षाका विद्यार्थीहरूको बालगीत, सियाना घिमिरेको विद्यार्थी अनुभव, मध्यम कक्षाका विद्यार्थीहरूको बालगीत, छात्राहरू आरुशी, सान्भी, विभा, अदिती र सियानाको उत्कृष्ट सामूहिक नृत्य तथा गीत बज्दा दर्शकवृन्दबाट करतल ध्वनिले गुञ्जायमान भएको थियो ।

अभिभावकका तर्फबाट कुशल कार्कीले आयोजकलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य राख्नुभएको थियो । मादलको तालमा गीत गाएर काश्वि कार्कीले सङ्गीत कलाको प्रतिभा प्रदर्शन गरेकी थिइन् ।

कार्यक्रमको अन्तिम चरणमा दीक्षाटोपीमा सजिएका विद्यार्थीहरूलाई लाइन लगाएर सम्बन्धित कक्षा शिक्षकबाट प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित एक छात्राले नेपालीमा लिखित भाषण पढ्दै नेपाली भाषाको विकासका लागि घरमा अभिभावकले बालबच्चासँग नेपाली बोल्न आग्रह गरेकी थिइन् । यसरी विद्यार्थीहरूले आ–आफ्ना प्रतिभा प्रदर्शन गरेर अभिभावक, गुरु, गुरुमा तथा सबैलाई प्रभावित तुल्याएका थिए ।

अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा र कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले शिक्षिका र स्वयंसेवकहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । उहाँहरूका तर्फबाट पदम विश्वकर्माले विद्यार्थीलाई बधाईका साथ शिक्षक, अभिभावक, स्वयंसेवक र विद्यालय व्यवस्थापकलाई धन्यवाद दिनुभएको थियो ।

अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले अनेसास र नेपाली पाठशालाका गतिविधि एवं विभिन्न जानकारी दिँदै अभिभावक र विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभयो । त्यस्तै गुरुआमाहरू, स्वयंसेवक तथा व्यवस्थापक वर्गलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । खासगरी राजु खनाल, परिवेश शर्मा, राजेन्द्र सिग्देल तथा शैलेश पोखरेललाई विशेष धन्यवादका साथ कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्