नेपाल । नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देिख लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।
प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।
तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।
आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्