-सुदीपभद्र खनाल-
मेरो रोदन घन्कियो प्रथम जो त्यै शैलका काखमा
मेरा पाउ उठे जहाँ सबल भै टेकेर त्यो भूमिमा
त्यो धर्ती कसरी भुलिन्छ र भन्यौ नेपालको हैन म
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
मान्छेको जुन आदिसत्य छ धरा घुम्ने र फिर्ने यहाँ
आफ्नै प्राकृत सत्यको पथ चुने दुष्कर्म के हुन्छ हँ
गल्ती के छ दियौ सजाय कसरी त्यो देशकै हुन्न म
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
मान्छेको अधिकार घुम्नु धरती प्राचीन प्राकृत हो
सत्ताका मदले पिसेर घुनझैँ फाल्नू कहाँ न्याय हो
यो अन्याय सहन्न साँध हदको त्यो खेलामा छैन म
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
मेरो नाभि उतै समस्त छ उतै नाली र बेली उतै
मेरो गाउँ उतै र जन्म घर छन् साथी सँगाती उतै
खेलेको खलियान खेत छ उतै उस्तै छु सैस्कारमा
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
पूर्खाको छ थलो उतैतिर उतै मेरो छ वंशावली
मेरो याद उतै विरासत उतै मेरो छ त्यो मावली
माटोको छ सुगन्ध हातहरुमा के ले विदेशी छु म
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
साँच्चै शासक शक्तियुक्त बलियाले जे गरुन् छुट हो ?
सोझा निम्ति सुली भए मुलुक के सम्भ्रान्तका भेट हो ?
जानेका परदेश नागरिकता खोसी छ के प्राप्त हँ
आमा जन्म दियौ ल बोल कसरी सन्ताननै हुन्न म ?
-हाल अमेरिका ।
प्रतिक्रिया दिनुहोस्