नेपाल । वैदेशिक रोजगारीमा कुवेतमा कार्यरत ११ जना नेपाली श्रमिकको विषाक्त मदिरा प्रयोगका कारण मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार विषाक्त मदिराको प्रयोग गरेर कुवेतका विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये ११ जनाको मृत्यु भइसकेको पुष्टि त्यहाँको अस्पतालले गरेको हो ।
दूतावासका अनुसार मृत्यु हुने श्रमिकमध्ये १० जनाको नाम र ठेगाना पुष्टि भइसकेको र एक जनाको पुष्टि हुन बाँकी रहेको छ । पुष्टि भएका मृतक श्रमिकका परिवारले नाम र ठेगाना सार्वजनिक नगर्न आग्रह गरेबमोजिम नै नाम र ठेगाना सार्वजनिक गरिएको छैन । विषाक्त मदिरा पिएर मृत्यु हुने श्रमिक पुरुष २२ वर्षदेखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूमध्ये अधिकांशले कुवेतका उत्पादन तथा सेवाका कम्पनीमा एक वर्षदेखि पाँच–छ वर्षसम्म काम गरिरहेको दूतावासले जनाएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीमध्ये १५ जनाको अति विशेषकक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ भने बाँकी १३–१४ जनाको सामान्य अवस्था रहेको र केहीको अस्पतालबाट डिस्चार्जसमेत भएको दूतावासले जानकारी गराएको छ । अस्पतालको प्रारम्भिक रिपोर्टमा मदिराका प्रयोग गरेर मृत्यु हुनुको कारण मदिरमा मेथानोल नामको रसायन पाइएकाले त्यसको असरले हुन सक्ने उल्लेख छ ।
आइसियुमा उपचार भएकामध्ये अधिकांश खतरामुक्त भइसकेको र केहीको भने अझै खतरामुक्त भन्न सक्ने अवस्था नरहेको उपचाररत चिकित्सकको भनाइ उद्धृत गर्दै दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
मदिरा पिउन कुवेतमा पूर्ण रूपमा प्रतिबन्ध छ तर पनि मदिरा पिएर बिरामी भएका नेपालीसहित अन्य श्रमिकको उपचारमा यहाँको सरकार असाध्यै संवेदनशील देखिएको आचार्यले जानकारी दिनुभयो । घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्