नेपाल । निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाले गोल गरेपछि नेपालले शुक्रबार साउदी अरबलाई १–० ले हराएर एएफसी महिला यु–२० एसियन कप छनोटमा पहिलो जित हात पारेको छ ।
नेपाल पहिलो खेलमा घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको थियो । नेपाल लगातार दोस्रो बराबरीतर्फ अग्रसर बनिरहेको समयमा उनले निर्णायक गोल गरी नेपालालाई महत्वपूर्ण तीन अङ्क दिलाइन् ।
खेलको ९० औँ मिनेटमा मीना देउवाको पासमा डिबक्समा बिनानिगरानीमा रहेकी सुक्रियाले गोल गरी नेपाललाई जित दिलाएकी हुन् । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा नेपाल पूर्वार्धमा दुई पटक गोलपोस्ट बाधक बन्दा गोलविहीन बन्यो ।
खेलको १८ औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्किंदा नेपाल अभागी साबित भएको थियो । खेलको ३७ औँ मिनेटमा अग्रता बनाउने अवसर थियो। डिबक्समा मिडफिल्डर मनीषा सेनलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो तर मिना देउवाको पेनाल्टी प्रहार गोलपोस्टमा लागेर फर्कियो ।
भुटानसँग अनपेक्षित रूपमा बराबरीमा रोकिएपछि प्रशिक्षक यामप्रसाद गुरुङले पहिलो रोजाइँमा पाँच खेलाडी परिवर्तन गरेका थिए ।
यस प्रतियोगितामा वर्षा ओली, समीक्षा मगर, सरिता, मनीषा र कुसुम खतिवडाले पहिलो पटक सुरुवाती ११ मै खेल्ने मौका पाए तर नेपालले तुलनात्मक रूपमा कमजोर मानिएको सउदी अरबविरुद्ध अपेक्षा अनुरूप प्रदर्शन भने गर्न सकेन ।
सउदी अरब पहिलो खेलमा उत्तर कोरियासँग १५–० ले पराजित भएको थियो तर सउदी अरबले नेपालसँग टक्करको खेल प्रदर्शन ग¥यो। साउदी अरब पटक पटक गोलको नजिक पुगेको थियो ।
खेलको ४२ औँ मिनेटमा स्थानापन्न खेलाडी लमारले व्यक्तिगत खेल देखाएर गोलपोस्टनजिक बल लगेर गरेको ‘चिप’ प्रहार गोलापोस्टमाथिबाट जाँदा नेपाल जोगिएको थियो। यसै गरी ५५ औँ मिनेटमा साउदी अबरकी अमीरा अबु अस्लम लगातार दुई पटक गोलको नजिक पुगिन् ।
नेपालले अब अन्तिम खेल च्याम्पियन उत्तर कोरियासँग खेल्ने छ। शुक्रबार नै भएको खेलमा उत्तर कोरियाले भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।
यस समूहबाट नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ तर भुटानसँगको बराबरी र सउदी अरबसँगको कठिन जितले नेपालको सो अभियानमा धक्का लाग्न सक्छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।
प्रतिक्रिया दिनुहोस्