-लालगोपाल सुवेदी-
आँसुमा आँसु देखेर आँसु मुस्कुरायो
हाँसोमा हाँसो देखेर
प्रकट भयो गौडी रीति
करुण रसको चूडान्तमा
उत्तराखण्डको धरालीजस्तो
ग ड ड /ण ट ठ ह / ड ण ठ जस्तो भयो
शिशमहल पहाडबाट हामफालेजस्तो
हाँसोमा हाँसो देखेर रोयो हाँसो
रोयो हाँसो
हाँसो रोएकोमा छ सबको गुनासो
तिम्रो , मेरो , जसको पनि !
हेर
आदेश फर्माउनेहरू छन् जेलमा
जेल नगएरै बन्दी भएका छन् ती त झन्
कहाँ छ जेल ?
आँखामा इन्सोमेनिया छ
त्यो पनि महाजेल नै हो
मुकुण्डोमा टाँसेको हाँसोजस्तो छ हाँसो
हाँसोमा कृत्रिमता छ
त्यो पनि महाजेल नै हो
जुत्तामा जीपीएसजस्तो छ शंका
निकटवर्तीमै बनिरहन्छ शंका
त्यो पनि जेल नै हो
कठै विचरा !
काजी दाइ पो निदाउन सके त
काजी दाइ हुन् चरा
हुन्छ जोसँग विचारको स्वतन्त्रता
निदाउन सक्छ त्यो जहिले पनि
जता पनि
झुण्डिएकै तरबार मुनि पनि
आदेश फर्माउनेहरू
किन निदाउन सक्थे ? कठै विचरा !
त्यता त कविताहरू छन् जेलमा
त्यता त कथाहरू पनि छन् जेलमा
जिन्दगी नामको उपन्यासमा
कसले जन्माउने उपन्यास ?
म त देख्छु
बन्दी छ विचार
काठमाण्डौहरूतिर छिरेपछि
काठमाण्डौहरूतिर छिरेपछि
काठमाण्डौहरूतिर छिरेपछि
खिया लागेको फलामको डण्डीजस्तै
भएका छन् हात र गोडाहरू
ताली , मान , प्रशस्ती एकातिर
भावसत्य अर्कैतिर
अँ भावसत्य अर्कैतिर !
दया पनि , माया पनि , करुणा पनि
किन बनेका होलान् कैदीबन्दी ?
आफूले आफैलाई बन्दी नबनाए
कस्तो हुँदो हो यो संसार ?
कठिन छ कवि बन्न
कठिन छ कविता बनाउन
-अमेरिका ।
प्रतिक्रिया दिनुहोस्