नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइजिनमा राख्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
यस प्रस्तावले नेपालका पुँजी बजार र लगानी वातावरणमा नकारात्मक असर पार्न सक्ने देखिन्छ । एनआरएनएले विज्ञप्तिमार्फत सम्बन्धित निकायलाई यो प्रस्ताव पुनर्विचार गर्न र सन्तुलित निर्णय लिन आग्रह गरेको छ ।
सीडीएस एन्ड क्लियरिङले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरेको संस्थापक र सर्वसाधारण सेयर छुट्टाछुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन) मा राख्ने प्रस्तावप्रति ध्यानाकर्षण गराएको हो ।
सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा आइजिनको व्यवस्था गर्ने भनेर पेस गरेको भनिएको प्रस्तावले नेपालको पुँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने देखिने विज्ञप्तिमा उल्लेख छ ।
यस्तो प्रस्ताव कार्यान्वयनमा गए विदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, सेयर कारोबारमा अन्योल बढ्ने तथा दीर्घकालीन रूपमा पुँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने स्पष्ट संकेत देखिएको एनआरएनएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्