१७ श्रावण २०८२, शनिबार

कविताः रित्तो बोरामा च्यातिएको सपना

कोलोराडोखबर संवाददाता , August 2nd, 2025

-तुलसी घिमिरे-
उसले बोकेर ल्यायो
रित्तो बोरा भित्र
च्यातिएको सपना
सपना भित्र बग्रेल्ती
दु:खद विगत थियो
भोक थियो
रोग थियो
आँसु थियो
यस्तो बोकेर हिड्ने
उसको रहर थिएन
थन्क्याउने कुनै त्यस्तो
रंगिन सहर थिएन
बाध्यताले थिचिएको थियो
आफ्नै दुखले किचिएको थियो
बिचरा!गरोस् पनि के?
ओरालो लाग्दै गरेको उमेर
रित्तिदै गएको वैश
घुसारेर जिन्दगी बोरामा
बोकेर सकि नसकि शिरमा
लुखुर लुखुर हिडिरहेको छ उ
झिलिमिली सहरमा ।
गाउँले मनग्ये खान दिएन
एकआङ्ग लाउन दिएन
अकालमा मरिने भयो भन्दै
दगुरिरहेको छ उ पहाडमा
कुदिरहेको छ मैदानमा
टिपेर सिलोबालो खेत खलिहान
समयको सजाय भोग्दै
उसको जिन्दगीले बोकिरहेको छ
खाली बोरा
बोराले बोकेको छ उसको
हजारौं हजार सपना
यो पुष्ट भरिपुर्ण सहरमा
किन?बिक्दैन जिन्दगी
किन !हाँस्दैन जिन्दगी
आखिर जिन्दगी भनेको
हाडछाला मासु हो
त्यसबाट चुहिने आँसु हो!
रोएर हलुको हुँदैन बोरा
जब सम्म भरिदैन भोक
तबसम्म बोक्नु पर्छ
यो रित्तो खाली बोरा ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्