-रमेशचन्द्र घिमिरे –
सुत्ने बेला भयो तर तिमी अझै आइनौ
निदाउनु पर्छ भन्ने थाहा किन पाइनौ ?
तिमी नआई त्यसै कहाँ निदाउन सक्छु ?
अनिदोमा रात कहाँ बिताउन सक्छु ?
आँखा पोल्यो, पिरो भयो, बिन्ती सुन्दिनौ र ?
माया जालमा पारी मेरो आँखा थुन्दिनौ र ?
भोलि बिहान चाँडै उठ्छु, पढ्छु अनि लेख्छु
तिमी आयौ भने मात्र म सपना देख्छु
यति विधि मलाई त्यसै अल्मल्याउँछ्यौ किन ?
कोल्टो फेर्दा थाकिसकेँ छट्पट्याउँछ्यौ किन ?
स्कुलबाट फर्केपछि गृहकार्य गर्छु
खाना खाई पाठ पढ्छु अनि खाटमा लड्छु
सबै जना सुतिसके दस बज्दा राति
बेलै छँदा सुत्न पाए हुन्थ्यो कति जाती
फकाउँदै मिठो स्वरमा गाना तिमी गाऊ
आऊ निदरी आऊ आऊ, आऊ निदरी आऊ ।
-भोर्लेटार लमजुङ
प्रतिक्रिया दिनुहोस्