३० भाद्र २०८२, सोमबार

महिला यु-२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

कोलोराडोखबर संवाददाता , July 31st, 2025

नेपाल । भुटानमा भदौ २३ देखि २८ गतेसम्म आयोजना हुने एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य छनोट भएको बताउनुभयो । ‘‘हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो खेलाडीमा जस्तो सुकै टोलीलाई हराउने क्षमता छ । हालै बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा खेलाडीले त्यो क्षमता देखाइसकेका छन्,’’ गुरुङले भन्नुभयो ।

प्रशिक्षक गुरुङले भुटानमा खेल्ने खेलाडी टोलीको यसअघिनै घोषणा गर्नुभएको छ । नेपाली २३ सदस्यीय अन्तिम टोलीमा बङ्गलादेशमा सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपमा सहभागी खेलाडीलाई समावेश गरिएको छ ।

टोलीमा एक खेलाडीमात्र परिवर्तन गरिएको छ । यसअघि टोलीमा रहनुभएकी रक्षक झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई मौका दिइएको छ । साफमा नेपाली महिला टोली उपविजेता बनेको थियो ।

एसियन कप छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, उत्तर कोरिया र साउदी अरब रहेको छ । समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउने छ ।

टोलीलाई बुधबार आयोजित कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली बिहीबार भुटान जाने छ ।

नेपाली टोलीमा को को छन् ?
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गङ्गा रोकाया, सजिना स्याङ्तान, कविता गुरुङ, कुसुम खतिवडा, मनीषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।

प्रतिक्रिया दिनुहोस्