१५ श्रावण २०८२, बिहीबार

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित

कोलोराडोखबर संवाददाता , July 30th, 2025

नेपाल । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको अविश्वासको प्रस्तावमाथि मत विभाजनका क्रममा संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएको हो। अविश्वासको प्रस्तावको पक्षमा २२ प्रदेश सभा सदस्य र विपक्षमा १५ प्रदेश सभा सदस्यको मत परेको हो।

प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन्।

योसँगै मुख्यमन्त्री लामाले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ। लामा र इन्द्र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर नेता हुनुहुन्छ । लामा २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै दलको नेता निर्वाचित हुनुभएको थियो । संसदीय दलको नेताका लागि भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाउनुभएको थियो ।

लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएसँगै अब संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ।

संसदीय दलको नेता गोप्य मतदानबाट गर्ने र ५० प्रतिशतभन्दा बढी मत ल्याउने संसदीय दलको नेता हुने कांग्रेसको संसदीय दलको विधानमा व्यवस्था रहेको छ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलले कांग्रेस बागमती प्रदेश समितिलाई पत्र पठाएपछि प्रदेश समितिको कार्यसम्पादन समितिले निर्वाचन समिति गठन गरी निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

प्रतिक्रिया दिनुहोस्