१३ श्रावण २०८२, मंगलवार

अन्डर-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा

कोलोराडोखबर संवाददाता , July 29th, 2025

नेपाल । भुटानको थिम्पुमा आयोजना हुने एएफसी अन्डर–२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ ।

एन्फाले बिर्सना चौधरीको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्।

समूह ‘ए’का खेलहरू साउन २१ देखि २६ गतेसम्म थिम्पुमा आयोजना हुने छन् ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हालै बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिप खेल्ने टिममा समावेश लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङतानलाई टिममा सामेल गरेका छन् ।

सिंगल राउन्ड रोबिन फर्म्याटको यस प्रतियोगिताका ८ समूह विजेताले २०२६ मा थाइल्यान्डमा हुने एएफसी अन्डर–२० महिला एसियन कपमा स्थान बनाउने छन् ।

साथै तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्नेछन् । नेपालले छनोटको पहिलो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेशमा सम्पन्न साफ अन्डर–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली टोली छोटो समयमै अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्