१३ श्रावण २०८२, मंगलवार

‘विश्व बाघ दिवस’ मनाइँदै

कोलोराडोखबर संवाददाता , July 29th, 2025

नेपाल । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ अर्थात मंगलबार ‘विश्व बाघ दिवस’ मनाइदै छ ।

सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।

उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् ।

त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्