१३ श्रावण २०८२, मंगलवार

स्पेनलाई पराजीत गर्दै इङ्ल्यान्डले जित्यो महिला युरोपियन च्याम्पियनसिपको उपाधि

कोलोराडोखबर संवाददाता , July 28th, 2025

नेपाल । विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ।

आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो। यता, इङ्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे ।

इङ्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन्। लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन् ।

यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन्। मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो ।

त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनले अग्रता बनाएको थियो। एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इङ्ल्यान्ड खेलमा फर्किएको थियो ।

प्रतियोगितामा स्पेनले जर्मनीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। इङ्ल्यान्डले भने इटालीविरुद्ध २–१ को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्