११ श्रावण २०८२, आईतवार

भदौभित्र ऋणको साँवाब्याज तिरे समस्याग्रस्त सहकारीका ऋणीले छुट पाउने

कोलोराडोखबर संवाददाता , July 27th, 2025

नेपाल । आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।

बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जारी गरेको सूचना अनुसार समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीले भदौ ३१ गतेसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा ब्याज र हर्जना छुट पाउने भएका हुन् ।

समस्याग्रस्त सहकारी संस्थाका ऋणी सदस्यले संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा अघिल्लो दिनलाई आधार मानेर भदौ मसान्तसम्म ऋणको साँवाब्याज भुक्तानी गरेमा त्यसपछिको ब्याज र हर्जना नलाग्ने सूचनामा उल्लेख छ ।

भदौ मसान्तसम्म पनि ऋणको साँवाब्याज भुक्तानी गर्न नआउने ऋणीको हकमा साँवाब्याज र हर्जना रकमसमेत गणना गरी ऋण असुली गर्ने कार्यालयले जनाएको छ ।

हालसम्म बागमती प्रदेश कार्यक्षेत्र भएका पाँच सहकारी संस्था समस्याग्रस्त घोषित छन् । जसमध्ये सिभिल सहकारी २०८० भदौ २१ गते, दर्शन सहकारी २०८१ कात्तिक २१ गते र नेसनल नमोबुद्ध, लालीगुँरास तथा सुमेरु सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्