-रमेशचन्द्र घिमिरे-
नडराई वनमा जब पाइला मैले टेकेँ
आफूतिरै आइरहेको बाघ एउटा देखेँ
मेरो कुरा सुनेपछि आमा डराउनु भो
“के भन्छ यो केटा ?” भन्दै बाबा कराउनु भो
तर म त ढुक्कै थिएँ गफ पेल्दै गएँ
एउटापछि अर्को गर्दै कुरा जेल्दै गएँ
“तँलाई डर लागेन र बाघ देख्दाखेरि ?
भागिस् होला ठाडै पाइला फर्किस् होला फेरि”
छक्क पर्दै हजुरबाले मुटु छाम्नुभयो
हजुरआमा डराउनु भो थर्र काम्नुभयो
मेरो गफ बाँकी नै थ्यो हाँस्दै थिएँ म त
कुरा के हो सोध्नुभयो के हो भन् भन् ल त
मैले बाघ देखेपछि पुच्छर समाइहालेँ
दुई चार फन्का घुमाएर झाडीतिर फालेँ
‘म्याउँ’ गर्दै बिचरो बाघ झाडीबाट भाग्यो
भन्दिनू न बरु मेरो कुरा कस्तो लाग्यो ?
-भोर्लेटार लमजुङ
प्रतिक्रिया दिनुहोस्