नेपाल । नेपाल आयल निगमले सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन बिहीबार निगमलाई हस्तान्तरण गरियो ।
हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख तथा आयोजना प्रमुख ई. प्रदीप यादवले प्रतिवेदन अनुसार छ अर्ब ५४ करोड २९ लाख पाँच हजार ५७ रुपियाँमा नयाँ डिपो निर्माण हुने जानकारी दिनुभयो ।
तोकिएको समयमा डिपिआर तयार भएकाले निर्माण पनि निर्धारित समयमा सक्ने गरी कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । हाल डिपो निर्माण गर्ने स्थानमा जग्गा चार किल्ला छुट्याई नेपाल नागरिक उड्यन प्राधिकरणले साइट क्लियरेन्सको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप निर्माण हुने डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटर क्षमताका दुई वटा पानी ट्याङ्की र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान हुने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो सुरक्षाका दृष्टिले उच्च जोखिममा देखिएपछि २०८१ साउन २८ को मन्त्रीपरिषद्को बैठकले डिपो सार्ने निर्णय गरेको थियो । सोही अनुसार डिपो गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सार्न प्रक्रिया अगाडि बढेको हवाई इन्धन डिपो कार्यालय सिनामङ्गले जनाएको छ ।
निगमले बनाउन लागेको उक्त डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्याङ्की रहने छन् ।
प्रतिक्रिया दिनुहोस्