नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा कवि तथा लेखक भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथारअकथा’ पुस्तक मङ्गलबार एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
बिपीका पुत्र तथा नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला, पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, वरिष्ठ पत्रकार किशोर नेपाल र लेखक ढुङ्गानाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले बिपीलाई नेपाली साहित्यमा कालजयी पात्रका रूपमा चिनिएको बताउँदै भन्नुभयो, “बिपीको पुत्र भएकाले राजनीतिमा त आएँ तर लेख्न भने खासै सकिनँ । लेखन मेरो क्षमताले पनि भ्याउँदैन । अब लेख्ने कोसिस गर्ने सोचेको छु ।”
लेखक ढुङ्गानाले बिपीलाई समर्पित गर्नकै लागि बिपी कोइराला स्मृति दिवसका दिन पुस्तक सार्वजनिक गरेको बताउनुभयो ।
पुस्तक प्रकाशक संस्था न्युरोड बुक स्टोरका सञ्चालक राजेश गजुरेलले पहिलो कृतिका रूपमा बिपीको पुस्तक प्रकाशन गरेको र आगामी दिनमा यस्ता कृति प्रकाशनमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्