नेपाल । नेपाली कांग्रेस संस्थापन सात भाइका पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी थालेका छन् ।
सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा १५ औँ महाधिवेशनमा आफूभित्रबाटै नेतृत्व हुनुपर्ने निष्कर्ष निकालेर मंगलबार सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।
भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेका थिए । सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए । तर आज कोइराला र निधि गएनन् ।
बुढानीलकण्ठ पुगेका नेता श्रेष्ठले सभापतिलाई आफूहरूलाई अन्याय नगर्न आग्रह गरेको बताए ।
उनले आफूहरूको भेलाले इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि महत्त्व दिन लायक नभएको निष्कर्ष निकालेको पनि बताए।
यसअघि पनि यी सातसहित ११ भाइ बुढानीलकण्ठ पुगेर उत्तराधिकारी तोक्न दबाब दिएका थिए । तर, देउवाले अहिलेसम्म मुख खोलेका छैनन् । नेतृत्वको लागि डा. शेखर कोइराला र महामन्त्री गगन थापाले पनि आआफ्नै तयारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्